कांग्रेसको सय दिने अभियान स्थगित

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, १२ : ३५
कांग्रेसको सय दिने अभियान स्थगित

काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई दशैंपछि गर्ने गरी सारेको छ । ७ असोजदेखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए ।

बाढीपहिरो प्रभावितहरूलाई राहत, उद्धार कार्यमा लाग्नुपर्ने भएकाले अभियान सारिएको महतले बताए । ‘राहत र उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले त्यतैतिर सम्पूर्ण शक्ति लगाउने निर्णय गरिएको छ,’ महतले भने ।

संगठन सुदृढीकरणका लागि ७ असोजबाट १६ पुससम्म सञ्चालन गर्ने गरी अभियानको घोषणा गरिएको थियो । कांग्रेसले ७७ जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधि बनाएर पठाइसकेको थियो ।

कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम पनि स्थगित गरेको छ ।