लागुऔषध कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १६ : ४३
लागुऔषध कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं । अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरी लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए । प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रहेको पनि जनाएको छ ।

त्यसैगरी ३३ केजी चरेशसहित ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ । गत पुस ४ गते काठमाडौंको चन्द्रागिरी बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङका २७ वर्षकी स्यानी चेपाङ, सोही ठाउँका चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको पनि लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ ।

उनीहरुबाट बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार रहेको व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस