चितवनमा यसरी मनाईयो मदन भण्डारी जन्म जयन्ती

विहीबार, १४ असार २०७५, १६ : ०८
चितवनमा यसरी मनाईयो  मदन भण्डारी जन्म जयन्ती

चितवन । जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेरे मदन भण्डारी फाउण्डेशन चितवनले आज (बिहीबार) फलफूलको बगैंचा बनाएको छ । कालिका नगरपालिका वडा नं. २ स्थित थाङ्गखोला सामुदायिक वनमा फाउण्डेशनले बगैंचा बनाएको हो ।

फाउण्डेशन चितवन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा बिहीबार सामुदायिक वनमा आयोजित फलफूल वृक्षारोपण कार्यक्रममा दुई सय सुन कागती र २० वटा एबोगार्डाेको विरुवा रोपिएको छ । करिब दुई विगाहा क्षेत्रफलमा ती विरुवा रोपिएको फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो । फाउण्डेशनले क्रमशः पाँच विगाहा क्षेत्रफलमा फलफूलका विरुवा रोप्ने उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वनको जग्गामा रोपिएका ती विरुवाको गोडमेल, मल, आवश्यक औषधोउपचार र संरक्षण जस्ता कार्य फाउण्डेशन र उपभोक्ता समूहले संयुक्त रुपमा गर्नेछन् । बगैंचाबाट आउने प्रतिफल भने सामुदायिक वनको नै हुने गरी बगैंचा बनाईएको अध्यक्ष भट्टराईले बताउनुभयो ।


उक्त बगैंचाको डिजाईन र आवश्यक प्राविधिक तयारी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्राध्यापक विशाल श्रेष्ठ र सरोज सापकोटाको नेतृत्वमा प्राविधिक सचेत सुवेदी र सरस मरासिनीले गर्नुभएको थियो ।

दीर्घकालिन रुपमा समुदायले प्रतिफल पाउने गरी बगैचाको विस्तार, प्रबद्र्धन र संरक्षण गर्दै लगिने फाउण्डेशनका उपाध्यक्ष शम्भुप्रसाद सुवेदीले बताउनुभयो । सो अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाले प्रदेश सरकारले सामुदायिक वनहरुलाई उत्पादनसँग जोडेर फलफूल र जडिबुटी खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । कतिपय नीतिले सामुदायिक वनहरुमा उत्पादनमूलक कार्य गर्न रोक लगाएको बताउँदै उहाँले त्यसलाई परिवर्तन गरी सामुदायिक वनहरुलाई उत्पादनमूल बनाईने बताउनुभयो । उहाँले भन्नुभयो “सालको रुख तयार गरेर प्रतिफल लिन एक सय वर्ष भन्दा बढी समय लाग्छ, फलफूलका विरुवा रोपेमा दुई चार वर्षमा प्रतिफल पाईन्छ, वातावरण पनि जोगिने र फलफूलका बोट बुढो भएपछि काठ पनि प्रयोग गर्न पाईन्छ ।”

अबको लडाई समृद्धिको भएको भन्दै उहाँले सबैलाई उत्पादनमूलक क्षेत्रमा लाग्ने आग्रह गर्नुभयो । फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, प्रदेश सांसद घनश्याम दाहाल, थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयलाल कँडेल, फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद सुवेदी, सचिव श्याम बिष्टलगायतले विरुवा रोप्नु भन्दा पनि यसको संरक्षण गर्नु र प्रतिफल लिनु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

जननेता मदन भण्डारीको जन्म २००९ साल आषाढ १४ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस