दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

शनिबार, ०९ असार २०७५, १५ : ४०
दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

लमजुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताउनुभएको छ ।

पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीको सांगठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने दाबी गर्नुभयो ।

“हिंसात्मक संघर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ,” गुरुङले भन्नुभयो – “अब पार्टी संगठन एउटै भयो । दुबै पक्षका कम्युनिष्टले विचारलाई पनि एउटै बनाउनुपर्छ ।”

मुख्यमन्त्री गुरुङले नेपालको कम्युनिष्ट एकता विश्वकै लागि दुर्लभ घटना भएको दाबी पनि गर्नुभयो । मुलुकको विकास र आर्थिक समृद्धिको लागि जनताले दिएको जनादेश मुताबिक एकता भएको उहाँको धारणा थियो ।

पार्टी एकीकरणपछि लमजुङमा कार्यालयसहित पदाधिकारीहरुको जिम्मेवारी समायोजन गरिएको छ । पूर्व नेकपा एमालेको कार्यालयलाई संयुक्त पार्टी कार्यालय बनाई बाँकी प्रवन्धका लागि जिल्लास्तरका नेताको कार्यदल बनाइएको नेकपाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस