बेलायतमा ऋषि सुनक पहिलो हिन्दू प्रधानमन्त्री

एजेन्सी

मंगलबार, ०८ कार्तिक २०७९, १३ : १२
बेलायतमा ऋषि सुनक पहिलो हिन्दू प्रधानमन्त्री

एजेन्सी । भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रचेका छन् । क्रिश्चियन बाहुल्यता भएको बेलायतमा उनी पहिलो हिन्दू प्रधानमन्त्री हुन् । ऋषि भारतीय मूलका बेलायती नागरिक हुन् । उनी बेलायतको पहिलो बेलायती एसियाली प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेको ४५ दिनमै लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ऋषिलाई बेलायतको प्रधानमन्त्री बन्ने सौभाग्य मिलेको हो ।

पार्टीको नेता चयनका क्रममा यस अघि भने ऋषि ट्रससँग पराजित भएका थिए । यस पटक भने उनले बाजी मारे र ४२ वर्षकै उमेरमा प्रधानमन्त्री बने । भारतीय मूलमा उनका बाबु आमा पूर्वी अफ्रिकाबाट बेलायत आएका थिए । ऋषिको जन्म सन् १९८० मा बेलायतको साउथह्याम्प्टनमा भएको थियो । उनलाई बेलायतमा धनी सांसदका रुपमा पनि लिइन्छ । उनी आफ्नो परिवारले सुरुवात गरेको व्यवसाय र आफै पनि विभिन्न संस्थामा काम गर्दा २५ वर्षकै उमेरमा करोडौंको मालिक बनेका थिए ।

उनले बेलायतको ४० वर्षयताकै उच्च मुद्रास्फीतिलाई सम्बोधन गर्ने र आफू आवद्ध पार्टीलाई एकताबद्ध गर्ने चुनौतीपूर्ण कार्यको सामना गर्नु पर्नेछ । उनले गहिरो आर्थिक चुनौतीलाई सबै बेलायती एक भएर सामना गर्नु पर्ने बताएका छन् । हिन्दू भएका कारण उनी मदिरा पनि पिउँदैनन् । उनले सन् २००९ मा इन्फोसिस कम्पनीका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरे । ऋषि र अक्षताका दुई छोरी अनुष्का र कृष्णा छन् ।

प्रतिक्रिया दिनुहोस