राष्ट्रपति भण्डारीको आचरणको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्छ: शान्ति समाज

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, १३ : ५३
राष्ट्रपति भण्डारीको आचरणको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्छ: शान्ति समाज

काठमाडाैँ । मानव अधिकार तथा शान्ति समाजले संसदका दुवै सदनबाट पारित भई आएको विधेयकलाई संविधान अनुरूप प्रमाणीकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख हुनु आपत्तिजनक भएको ठहर गरेको छ।

‘संसदबाट पारित विधेयकमा राष्ट्रपतिको असहमति भए त्यस्तो अवस्थामा एकपटक पुर्नविचारका लागि संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक अधिकार राष्ट्रपतिले प्रयोग गरिसक्नु भएको छ’, शान्ति समाजका सभापति गोविन्द खनालले आज जारी गरेको विज्ञप्तिमा भनिको छ ,‘संसदका दुवै सदनबाट पुन: पारित भइसकेको अवस्थामा राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गर्नु या राष्ट्रपति पदबाट राजीनामा दिनुबाहेक उहाँसँग अर्को विकल्प रहदैँन।’

संसदीय सर्वोच्चतालाई चुनौती दिँदै विधेयकलाई प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको यो कदम संविधानविपरीत हुनुका साथै लोकतन्त्र विरोधी रहेको शान्ति समाजले जनाएको छ।

‘यसैगरी राष्ट्रपति पदको दुरुपयोग गर्दै संवैधानिक मर्यादा विपरित मोर्चाबन्दी गर्ने र राज्यको संवेदनशील निकायलाई विवादमा तान्न खोज्ने राष्ट्रपति भण्डारीको आचरणको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपति भण्डारीको संविधानविरोधी यो कृत्यको सम्बन्धमा संवैधानिक मर्यादाको सीमाभित्र रहेर न्यायीक हल खोज्न सरकार र जिम्मेवार राजनीतिक दलहरूलाई शान्ति समाजले आग्रहसमेत गरेको छ।

राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोध गर्ने नाममा कुनै पनि असंवैधानिक अभ्यास र अराजकतालाई बढावा दिने काम सरकारले गर्ननहुने पनि विज्ञप्तिमा भनिएको छ। ‘यसै सम्बन्धमा उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदको मर्यादा र गरिमा विपरीत गरेको टिप्पणीको शान्ति समाज निन्दा गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस