अफगानिस्तानमा युद्धविरामको समय थप

आइतबार, ०३ असार २०७५, १७ : ०६
अफगानिस्तानमा युद्धविरामको समय थप

आक्रमणमा शनिबार पनि २६ मारिए

अफगानिस्तान । अफगानिस्तानको सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ गनीले कमैमात्र गर्ने टेलिभिजन सम्वोधनमार्फत् थप तीन दिन युद्धविरामको समय बढाउनुभएको हो ।

उहाँले यो समय बढाएर मङ्गलबारसम्म पु¥याउनुभएको हो । यसैमार्फत उहाँले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गर्नुभएको छ । आइतबार राति अहिलेको युद्ध बिरामको म्याद सकिने भएकाले उहाँले तीनदिन थप्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

उता युद्धविरामका क्रममा पनि आत्मघाती हमलामा कमी आएको छैन । शनिबारमात्र पनि यस्तै आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । त्यसपछि पनि युद्धविरामको समय बढाउने निर्णय गरिएको एकजना सरकारी अधिकारीले बताएका छन् । मुस्लिम समुदायको सबैभन्दा ठूलो इद पर्व मनाउनका लागि सरकारले युद्धविराम घोषणा गरेको हो ।

राष्ट्रपति गनीले गरेको आग्रह र सरकारले युद्धविरामको अवधि थपेको बारेमा तलिवान लडाकूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । सम्वोधनका क्रममा राष्ट्रपति गनीले भन्नुभएको छ, “म सुरक्षाकर्मीलाई यो निर्देशन दिन्छु की, तपाइहरु रक्षात्मक अवस्थामा मात्रै रहनु होला ।” इदको दोस्रो दिन राष्ट्रपति गनीको यो प्रतिक्रिया आएको हो । अहिले रमजान मनाउने मुस्लिम समुदायको उपवासको महिना चलिरहेको छ ।

राष्ट्रसंघद्वारा युद्धविरामको स्वागत
यसैविच, अफगानिस्तानको सरकारले एकतर्फीरुपमा युद्ध विरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गर्नुभएको छ ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ । राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न उहाँले दुवै पक्षलाई आग्रह पनि गर्नुभएको छ ।

इद पर्व मनाइरहेका बेला पूर्वीअफगानिस्तानको नान्गारहार प्रान्तमा शनिबार भएको आक्रमणप्रति पनि राष्ट्रसंघीय प्रमुख गुथ्रेसले आपत्ति जनाउनुभएको छ । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस