काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसदको मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदललाई आज अपराह्न चार बजेसम्मको समय दिइएको छ ।
कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।
कार्यदलको बैठक आज दिउँसो २ बजे बस्ने छ । त्यसपछि आजै अपराह्न ४ बजे समितिको पूर्ण बैठक बस्ने छ । त्यतिन्जेलसम्म मस्यौदामा सहमति जुटाउने मुख्य जिम्मेवारी कार्यदललाई दिइएको छ ।
समितिबाट यो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश गर्ने सरकार र सत्तारुढ दलहरुको तयारी छ । तर केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।
विधेयकमा एमालेले द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उलंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान लिएको छ । एमालेको अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव पनि कतिपयले राखेका छन् ।
यही मध्यमार्गी प्रस्तावउपरको छलफलमा भाग लिनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पहिलो पटक मानव अधिकार समितिको बैठकमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १२ : ५४
लेखकबाट थप