तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १५ : ५८
तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन ।आईतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन । मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए । उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाए ।

उनले दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसावले सकारात्मक नतिजा दिने बताए । उनले सोमबार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उहाँसँगको भेटमा नाका सुसञ्चालनको बारेमा कुरा राख्ने बताए। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमबार ४ दिने नेपाल भ्रमणमा आउँदै छन ।

ज्ञापन पत्र बुझाएपछि नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए । उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए । नेता बस्नेतले त्यहाँका स्थानीयहरुले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए ।

उनले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको वयापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए । उनले व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताए ।

ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताए । उनले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे। अध्यक्ष श्रेष्ठले नाका राम्रोसँग कोभिड १९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गरे । नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरु नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि सं २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताए । उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए ।

अध्यक्ष बस्नेतले व्यावसायीहरु आफ्नो लगानी डुब्ने अवस्थामा रहेको चिन्तित भएको भन्दै नाका सुसञ्चालनबारे पहल गरिदन आग्रह गरे। पहिला दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटा सम्म सवारी मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो गरे ।

आईतवार हिमालपारी व्यापार संघले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । आईतबार परराष्ट्र मन्त्रालयमा पुगेर नेता बस्नेतसहितका संघका पदाधिकारी र व्यापारीहरुले परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस