आज इद उल फित्र पर्व

शनिबार, ०२ असार २०७५, १० : ३४
आज इद उल फित्र पर्व

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिए ।
शनिबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस