एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको आरोप

शुक्रबार, ०१ असार २०७५, १९ : ०९
एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको आरोप

अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।
न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट लगभग चेकबुकको जस्तै काम गरेको बताएकी छिन् । उनले विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभाबी रकम तिरेको आरोप लगाएकी छन् । उनले तयार पारेको अभियोगपत्रमा विगत एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको उल्लेख गरिएको छ ।

ट्रम्प फाउन्डेशनले एक विज्ञप्ति जारी गर्दै ती आरोपहरू अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले न्यूयोर्कका फोहोरी डिमोक्र्याटहरूले त्यो मुद्दा अघि सारेको आरोप लगाएका छन् । ट्रम्प फाउन्डेसनसंग सम्बन्धित अनियमितताका आरोप सन् २०१६ को राष्ट्रपति चुनावमा पनि बाहिर आएका थिए तर त्यसलाई राष्ट्रपति ट्रम्पको सुरूवाती कार्यकालले छायाँमा पारिदियो । तर अब त्यो अवस्था बदलिन लागेको जस्तो देखिन्छ । राष्ट्रपति ट्रम्पदेखि उनी मताहतका सरकारी अधिकारीहरूले यसलाई पनि अर्को राजनीतिक रुपमा पूर्वाग्रहि अनुसन्धान भनेर टिप्पणी गर्न सक्छन् तर न्यूयोर्ककी महान्यायधिवक्ता अन्डरवुडसंग उल्लेख्य अनुसन्धान र कारबाही गर्ने शक्ति छ ।

 

प्रतिक्रिया दिनुहोस