प्रविधिले ओझेलमा हुलाक सेवा

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, ०७ : ५६
प्रविधिले ओझेलमा हुलाक सेवा

काठमाडौं । गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुनेगथ्र्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ ।

हुलाकमार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने भएकाले हुलाक सेवा ओझेलमा पर्दै गएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ५६ वर्षीय परमानन्द भट्टले हुलाक सेवा प्रयोग नगरेको डेढ दशक भइसक्यो । विसं    २०६० तिर भारतमा रहेका छोराको चिठ्ठी पाएको उनी सम्झिन्छन्। 

तत्कालीन समयमा चिठ्ठी आएपछि गाउँले सबै भेला भएर जान्ने एक जनाले बाचन गर्ने र अरुले सुन्ने गर्थे । “अहिले त सबै पढेलेखेका छन्, त्यो बेला चिठ्ठी पढ्ने मान्छे पनि खोज्नुपथ्र्यो”, उनले भने, “देश–विदेशमा गएका छोरा र आफन्तको खबर आउने माध्यम भनेकै चिठ्ठीपत्र थियो ।”

पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले आफन्त वा साथीलाई सन्देश पठाउन सर्वसाधारणले मोबाइल, टेलिफोन, इन्टरनेट, सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनलाई नै परिवर्तन गरिदिएको छ । अन्य मुलुकको तुलनामा नेपालमा सुस्त गतिले भए पनि सूचना प्रविधिले फड्को मारेको भीमदत्त नगरपालिका–१५ का विष्णुदत्त जोशीले बताए ।

 जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी देवसिंह सामन्तले पछिल्लो एक दशकयता व्यक्तिगत चिठ्ठी आउन छाडेको बताए । 

प्रतिक्रिया दिनुहोस