सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।
मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कार्कीलाई कांग्रेसको क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो।
कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा क्षेत्रीय सभापति एयुब अन्सारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भई अहिलेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका छन्।
०७४ सालको निर्वाचनमा मन्त्री कार्की ३२ हजार ३४७ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरेका थिए।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्दै आएका कार्कीले सुनसरीको विकास र विस्तारका साथै पार्टीको साङ्गठनिक सुदृढीकरणमा पुर्याएको योगदानका कारण उनलाई सर्वसम्मत रूपमा उम्मेदवारमा सिफारिस गरिएको जानकारी क्षेत्रीय सभापति एयुब अन्सारीले दिए।
सुनसरी क्षेत्र नम्बर ४ को समग्र विकास अभियानमा कांग्रेसका प्रभावशाली नेता कार्कीसँग त्यस क्षेत्रका सर्वसाधारणको अझै आशा, अपेक्षा र विश्वास रहेको उनको विश्वास छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, २० : ३०
लेखकबाट थप