गठबन्धन सरकार पूर्ण रुपमा असफल भइसक्यो : महासचिव पोखरेल

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, ११ : ४४
गठबन्धन सरकार पूर्ण रुपमा असफल भइसक्यो : महासचिव पोखरेल

कैलाली। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे । यही सरकार रहिरहने हो भने श्रीलंकाको अवस्थामा जाने निश्चित रहेको उनले ठोकुवा समेत गरे ।

उनले भने, ‘नेपाली मुद्रा कमजोर बन्दै गएको छ । सरकार असफल भएको छ । सरकारको आफ्नो खर्च गर्ने क्षमताले बजार गुलजार हुन्छ । तर सरकारले आफ्नो खर्च गर्ने सामर्थ्य गुमाइसकेको छ । जुनकारण यो जनताको सरकार नै होइन ।’