सुनकाण्ड : बाजेको सेकुवामा अनुसन्धान समितिको छापा

बुधबार, ३० जेठ २०७५, १५ : २०
सुनकाण्ड : बाजेको सेकुवामा अनुसन्धान समितिको छापा

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । विभिन्न क्षेत्रमा रहेको शाखाहरुमा अनुसन्धान समितिले छापा मारेको हो । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये ५ वटा भण्डारीको र एउटा उनको सालो सञ्चालक गरेको गरी ६ वटामा छापा मारेर शिलबन्दी गरिएको समिति स्रोतले जनाएको छ । सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारी सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।

विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिन पुगेको थियो । भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभएपनि मुख्य नाइके भनिएका चूडामणि  उप्रेती गोरेमार्फत लगानी गरेको बताइँदै आएको छ ।

तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा गत माघमा हराएको थियो।  सुन लुकाउनेहरुसँग मिलेको आशंकामा शाक्यलाई नियन्त्रणमा लिई सोही गिरोहका व्यक्तिहरुले कुरा खोल्न करेन्ट लगाएका थिए। त्यही क्रममा उनको मृत्यु भएको थियो।
त्यसपछि बाहिर आएको सुनकाण्डको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति  बनाएको थियो ।  
 

 

प्रतिक्रिया दिनुहोस