सुन तस्कर गोरे, भुजुङ र छिरिङको सम्पत्ति अनुसन्धान सुरु, आफन्तमाथि पनि अनुसन्धान गरिने

मंगलबार, २९ जेठ २०७५, १५ : ३३
सुन तस्कर गोरे, भुजुङ र छिरिङको सम्पत्ति अनुसन्धान सुरु, आफन्तमाथि पनि अनुसन्धान गरिने

काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ ।
विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर सम्पत्ति छानवीन अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।  

विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबिनको क्रममा सफाइको मौका समेत दिने तयारी गरेको छ । अभियुक्तहरुलाई आवश्यकता अनुसार विभागमा झिकाएर सफाइको मौका दिइने पनि प्रवक्ता लामिछानेले जानकारी दिए ।
विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन ।
२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डा. डेविट भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निश्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

आफन्तको सम्पत्ति समेत अनुसन्धानको दायरमा
विभागले सुन तस्करी प्रकरणका प्रतिवादीमाथि शुरु गरेको अनुसन्धानअन्तर्गत आफन्तको सम्पत्तिलाई समेत रोक्का राख्ने तथा नियन्त्रणमा लिन सक्ने छ ।  सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को दफा (१८) को उपदफा (१) बमोजिम सम्पत्ति रोक्का राखी वा नियन्त्रणमा लिइ अनुसन्धान गर्ने विभागका निर्देशक लामिछानेले बताए ।

निर्देशक लामिछानेले सुन तस्करीका प्रतिवादीका आफन्तले तस्करीबाट आर्जिक सम्पत्तिबाट लाभ पाएको देखिएमा उनीहरूमाथि समेत कारवाही हुने बताए ।

‘प्रतिवादीले अपराध कर्मबाट आर्जन गरेको सम्पत्तिबाट तेस्रो पक्षले पनि जानी–जानी लाभ लिएको देखिएमा उनीहरू पनि कारवाहीको दायरमा आउँछन्,’ लामिछानले भने, ‘तेस्रो पक्षका रूपमा प्रतिवादीका आफन्त, तस्करीको नेटवर्कमा रहेका अन्य व्यक्ति पनि हुन सक्छन् ।’ यद्यपि प्रतिवादीले अपराध कर्मबाट आर्जित सम्पत्तिबारे आफन्तहरूले कुनै जानकारी नै प्राप्त नगरी (अन्जानवश) त्यसको लाभग्राही बनेमा भने कारवाही नहुने कानूनी व्यवस्था छ ।

विदेशमा भएको सम्पत्ति समेत नियन्त्रणमा लिइने
सुन तस्करीका प्रतिवादी गोरे, भुजुङ र छिरिङले तस्करीबाट आर्जन गरेको सम्पत्ति विदेशमा राखेको भए पनि नियन्त्रणमा लिइने विभागका प्रवक्ता लामिछानेले बताए ।

सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को (१९) मा कसुरसँग सम्बन्धित व्यक्तिका नाममा नेपालबाहिर अन्य देशमा सम्पत्ति रहे रोक्का राख्न तथा नियन्त्रणमा लिन सम्बन्धित देशसँग समन्वयन गर्ने सकिने प्रावधान छ ।

दफा (१९)को उपदफा (१) मा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रिलयाकलापमा वित्तीय लगानीसम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनुपर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले तोकिएबमोजिम त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन तत्काल परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित मुलुकमा लेखी पठाउनुपर्नेछ,’ भनी उल्लेख छ ।

यस्तै पारस्परिक कानूनी सहायता ऐन, २०७० बमोजिम पनि विदेशमा रहेको सम्पत्ति नेपाल ल्याउन सकिने विभागका निर्देशक लामिछानेको भनाइ छ । यद्यपि यसका लागि भने पारम्परिक कानून सहायताका लागि अन्य देशसँग सम्झौता भएको हुनुपर्ने कानूनविद्हरूको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस