ट्रम्प-किम वार्ता: उत्तर कोरियाद्वारा कार्यसूची तय

सोमबार, २८ जेठ २०७५, ११ : ४४
ट्रम्प-किम वार्ता: उत्तर कोरियाद्वारा कार्यसूची तय

उत्तर कोरिया । आफ्ना नेता किम जङ-अनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा "स्थायी शान्ति स्थापना संयन्त्र"का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ ।

किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन् । उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले "स्थायी र दिगो शान्ति सस्थापना गर्ने संयन्त्र"का विषयमा छलफल गर्ने भनिएको छ ।

दुई पक्षबीच कोरियाली प्रायद्वीपमा "परमाणु अस्त्र निश्शस्त्रीकरण" र "आपसी हित"का विषयमा छलफल हुने भनिएको छ ।

अडान
विज्ञप्तिमा भनिएको छ "अब एउटा परिवर्तित युग शुरू भएको छ ।" किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन् ।

आशा
दुवै नेता फरक होटलमा बसिरहेका छन्। तर ती एक अर्काभन्दा धेरै टाढा छैनन् । किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शाङ्ग्रिलामा बसिरहेका छन् ।

बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, "परम्परागत राजनीतिले यस्तो बैठक सम्भव भएको होइन। नेता किमसँगको यो बैठक लामो यात्राको शुरूवात हुन सक्छ ।"
सोपेल लेख्छन्, "ट्रम्प भन्छन् उनी कसैसँग मिल्न सक्छन् वा सक्दैनन् भनेर थाहा पाउन उनलाई पाँच सेकेण्ड लाग्ने गर्दछ । अब किम र ट्रम्पबीच कुराकानी अघि बढोस् भनेर आस मात्र गर्न सकिन्छ ।"

प्रतिक्रिया दिनुहोस