काठमाडौं । आसन्न संसदीय निर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा शुक्रवार बिहान बैठक शुरू भएको हो । बैठकले निर्वाचनमा तालमेलकाे औपचारिक घोषणा गर्ने बताइएको छ । त्यस्तै, सत्तारुढ गठबन्धनको बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुने एक नेताले बताएका छन् ।
सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा तालमेल गरे जाने बताइरहेका छन् । तर, तालमेल गर्दा सिट बाँडफाँटको विषय भने पेचिलो बनिरहेको हो शुक्रवारको बैठकमा तालमेलको मोडालिटीको विषयमा छलफल हुने नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । उनले त्यसका लागि कार्यदल बनाएर जान सकिने धारणा राखेका छन् ।
सरकारले बिहीवार मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेलगत्तै गठबन्धन छलफलमा जुटेको हो ।गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । पछिल्लो पटक लोकतान्त्रिक समाजवादीले पनि गठबन्धनमा सहभागी हुने इच्छा देखाइरहेको छ । यद्यपि हालसम्म औपचारिक रूपमा गठबन्धनमा सामेल भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १० : ५४
लेखकबाट थप