काठमाडाैँ । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन्। उनले प्रतिनिधिसभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने बताइन्।
उपसभामुख भुसालले संसदबाट प्राप्त सुझावका आधारमा निलम्वित प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताइन्।जबराबिरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम शुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन्।
उनले संसदमा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाअभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको बताइन्।उनले निलम्वित प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग समितिबाट जति चाँडो संसदमा आउँछ त्यति नै छिटो यो विषयको टुंगो लाग्ने विश्वास व्यक्त गरिन्।
उनले भनिन्, ‘संसद विघटनको कुनै सम्भावना छैन। संविधानले अहिलेको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन भएको छ। त्यसले विघटनको परिकल्पना गरेको छैन। महाअभियोग विशेष समिति पनि गठन भइसकेको अवस्था छ। अब छिटै यो विषयलाई संसदमा छलफलको विषय बनाएर विषयगत समितिमा यसको सुझावहरु पठाउनको लागि कार्यसूचीमा ल्याएर यसलाई अघि बढाउनुपर्छ। समितिले छिटो भन्दा छिटो छलफल गरेर आफ्नो कामहरु, कार्यविधिहरु बनाएर यो विषयलाई टुंग्याएर अघि बढाउने कामहरु हुन्छ।’
उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसदको आयु रहने बताइन्। उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसदको आयु रहने बताइन्।
उनले आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म मात्रै संसदको अवधि रहने भन्दै सबै सांसद र संसदको लागि यसले आगामी दिनमा नजिर बसाल्ने बताइन्।उपसभामुख भुसालले सबै सांसद र संसदको लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र बहस भइरहेको पनि जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १४ : ३३
लेखकबाट थप