अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच सुनिश्चित गराउन प्रत्यायन विधेयक : दिलेन्द्र बडू

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १७ : २२
अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच सुनिश्चित गराउन प्रत्यायन विधेयक : दिलेन्द्र बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदले विधेयकसम्बन्धी उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री बडूले मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणीकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुको पहुँच सुनिश्चित गराउने विषयमा पनि यो विधेयक महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

मन्त्री बडूले नेपालबाट विश्व बजारमा जाने उत्पादनको विश्वसनीयता पनि यो विधेयकका कारण बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापारमा नेपालका वस्तुको पहुँच पनि सहजतापूर्वक हुने प्रतिवद्धता जनाए ।‘यो प्रस्ताव निरीक्षण, परीक्षण गर्ने, प्रमाणीकरण गर्ने कार्यलाई प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणीकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्नलाई, अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषय हो । हामीले एग्रिडिटेशन गरिसके पछिका वस्तुहरुको मात्र अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता बढ्छ र यसलाई सहजै स्वीकार्य हुनसक्छ’ उनले भने ।प्रतिनिधिसभाको अर्को बैठक २२ साउनमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस