काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भए पनि नेपाली बजारमा घटाउन नलागिएकोप्रति आपत्ति जनाए । उनले नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बताइरहेका बेलासमेत सरकारले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सोच्न नसकेको बताए ।
‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो तर नेपाली बजारमा घटेको छैन । घट्न जरुरी छ । नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बताइएको छ । यति नोक्सानी भइरहँदा नेपाल सरकारले विकल्प सोचेको छैन,' उनले भने ।
सांसद सुवालले सरकारले भारतलाई बेचेको ३६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बताए पनि बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा दिन आवश्यक रहेको बताए । उनले भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै भए भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट भएको बताए ।
'सभामुख महोदय । भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने भन्ने योजना सुनियो । यो सत्य भए भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट हुन्छ’ उनले भने उनले शासक दलहरुले भागबण्डामा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै न्यायालयलाई भ्रष्टाचारमुक्त गर्नसक्ने न्यायाधीश नियुक्ति गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, १५ : १५
लेखकबाट थप