नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न सुझाव : सुनुवार

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १४ : ५४
नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने संघ राख्न सुझाव : सुनुवार

काठमाडौं ।नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (विबिसंघ) राख्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने (विबि) संघ राख्न सुझाव दिएका हुन्। उनले नेविसंघकै कारण अहिले त्रिभूवन विश्वविद्यालयको दुर्दशा भइरहेको भन्दै शिक्षा ग्रहण गर्ने ठाउँमा जुन समयमा पनि तालाबन्दी भइरहेको बताए।

उनले तालाबन्दी गर्ने मानिसहरु कुनै विद्यार्थी संगठनहरु नभइ नेविसंघको पहलमा बाहिरबाट भइरहेको आएको आरोप लगाए।सांसद सुनुवारले साउन १३ गतेबाट विश्वविद्यालय पुनः अस्तव्यस्त बनेको भन्दै विश्वविद्यालयलाई अराजकताको केन्द्रका रुपमा पुर्‍याइएको बताए । 

‘यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन। त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ, प्राध्यापक र सह प्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभूवन विश्वविद्यालय अस्तब्यस्तको दिशामा अघि बढेको छ।' उनले भने, ‘यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ। नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर वि.वि.संघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म प्रस्ताव गर्न चाहन्छु।’

सांसद सुनुवारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु अहिले ४० माथिका भएको भन्दै पाका विद्यार्थी थुपारेर प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टीले विश्वविद्यालय अस्तव्यस्त बनाएको बताए । 

प्रतिक्रिया दिनुहोस