बायर्नलाई जर्मन कपको उपाधि

एजेन्सी

आइतबार, १५ साउन २०७९, ०९ : ३०
बायर्नलाई जर्मन कपको उपाधि

एजेन्सी । बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले आरबी लाइपजिगलाई ५–३ गोल अन्तरले हराउँदै जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति रेड बुल एरिनामा भएको फाइनलमा बायर्नलाई जित दिलाउन जमल मुसियाला, साडियो माने,बेन्जामिन पाभर्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक–एक गोल गरे ।

उता लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३१ औं मिनेटमा मानेले गोल गर्दा बायर्नले आफ्नो अग्रता दोब्बर बनायो ।

पहिलो हाफको अन्तिम मिनेटमा बेन्जामिनले गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए । ५९ औं मिनेटमा मार्सलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए ।​ सेर्जीले खेलको ६५ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता ४–१ को बनाए । लाइपजिगका लागि ७७ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दा टिम ४–२ को स्थितिमा पुग्यो ।

८९ औं मिनेटमा ओल्मोले गोल गर्दै लाइपजिगलाई ४–३ को अवस्थामा ल्याए । खेलको इन्युरी समयमा सानेले गोल गर्दै बायर्नलाई ५–३ को जित दिलाए । जर्मन बुन्डेस लिगा च्याम्पियन र जर्मन कपको च्याम्पियनले जर्मन सुपर कपको उपाधिका लागि खेल्ने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस