काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टी गठनको क्रममा रहेका डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। पार्टी सम्पर्क समन्वय प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धको सहयात्रीसमेत रहेको बाबुराम माओवादी नै नभएको बताएका हुन्।
उनले भने, ‘यो निर्वाचनबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरूको काम छैन भन्ने स्पष्ट भइसक्यो। किरण माओवादीको काम छैन, विप्लव माओवादीको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन।’
माओवादी एउटा मात्रै भएको उल्लेख गर्दै आफूले नेतृत्व गरिरहेको पार्टी मात्रै माओवादी भएको दाबी गरे। आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशको बागडोर माओवादीले नै सम्हाल्ने दाबी गरे।उनले आगामी कार्यकाल पछि सम्मको सन्ततिले सम्झिने गरी लास्ट इनिङ्स हुने संकेत गरे।
‘देशको बागडोर हाम्रै हातमा आउने सम्भावना छ। मलाई नै भन्नुहुन्छ भने हुनसक्छ मेरो यो लास्ट इनिङ्स। यो लास्ट इनिङ्स चाहि पछि सम्मको सन्ततिलाई सम्झिने गरी देशलाई केही चिज दिने सपना राखेको छु’ प्रचण्डको भनाइ छ।
जसपाबाट निष्कासित बाबुरामलाई प्रचण्डले पार्टीमा फर्काउने प्रयास गरेका थिए। तर, उनले अस्वीकार गरेपछि नेकपा समाजवादी केन्द्र बनाउने प्रचण्डले पहल गरेको भएपछि सफल बन्न सकेको छैन। बाबुरामले नेकपा शब्द नरुचाएपछि समाजवादी केन्द्रको सम्भावना कमजाेर बन्दै गइरहेकाे अवस्थामा प्रचण्डकाे यस्ताे अभिव्यक्ति आएकाे हाे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १५ : ५४
लेखकबाट थप