‘देशको राजनीतिक मूलधार र नेतृत्व माओवादी नै हो’: प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १४ : ११
‘देशको राजनीतिक मूलधार र नेतृत्व माओवादी नै हो’: प्रचण्ड

काठमाडौं  ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक मूलधार र नेतृत्व नै माओवादी केन्द्र नै भएको दाबी गरेका छन्। पार्टी सम्पर्क समन्वय प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता पुगेकाहरू संघीयता र लोकतन्त्रविरोधी देशको मूलधार नरहेको बताएका हुन्। 

उनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको बिषयमा हिजो प्रधानमन्त्रीसँग कुराकानी भएको बताउँदै मंसिर ४ गते हुने बताए। 

उनले भने, ‘अहिलेको निर्वाचन हाम्रो लागि सामान्य होइन। अहिलेसम्मको परिवर्तनको रक्षा गर्दै समाजवादीको आधार तयार पार्ने लडाइँको मोर्चा तयार गर्नुपर्छ। संविधान र गणतन्त्र उल्टाउने षड्यन्त्र भयो। हाम्रो लागि यो फगत निर्वाचन मात्रै होइन।’ 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै कम्युनिष्ट आन्दोलनभित्र धुसेका दलालहरूले तत्कालीन नेकपा विभाजन भएको आरोप लगाए। आफूहरुले नै बनाएको सरकार र पार्टीले नै संविधान विरोधी गतिविधि गरेपछि बाध्य भएर विद्रोह गरेको बताए। स्थानीय तहको निर्वाचन सकिएपछि सबैभन्दा धेरै खुसी माओवादी केन्द्र नै भएको बताए। 

‘कुनै पार्टीले धेरै जिते कसैले कम जिते होला परिवर्तनको नेतृत्व गर्ने पार्टीको हैसियतले सबैतिर मैले नै जितेको माओवादीले नै जितेको जस्तो लाग्छ भनेको थिए। कांग्रेसले महिला जनजाति दलित मधेशी मुस्लिमलाई सहभागिता गराउँदा या एमाले होस् या अन्य पार्टीले सहभागिता गराओस् तर मलाई कांग्रेस र एमालेभित्र पनि माओवादी नै पसेको जस्तो लाग्छ’ उनको भनाइ छ।  

जसको नीति र उसको नेतृत्व नहुँदा देश र जनताले दुख पाउने गरेको बताए। उनले भने, ‘आजको देशको मुल राजनीति धार के हो? र नेता र नेतृत्व को हो? यो देशव्यापी उठाउनुपर्यो। हामी निराश हुनुपर्ने छैन। यो परिर्वतन माओवादी जनयुद्धबाट सफल भएको हो।’ 

उनले एमालेप्रति लक्षित गर्दै संघीयता र लोकतन्त्रविरोधी गर्ने देशको मूलधार हुन नसक्ने दाबी गरे। उनले भने, ‘देशको राजनीतिक मूलधार र नेतृत्व नै माओवादी नै हो। यो कुरा तपाईंहरुले घरघर टोलटोलमा उठाउनुपर्यो। माओवादी नेतृत्वमा नपुगेसम्म देश र जनताले दुख पाइरहन्छ।’

उनले माओवादी नेतृत्वमा नै देशलाई लोडसेडिङ मुक्त बनाएको समेत बताए। 

प्रतिक्रिया दिनुहोस