काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पार्टीपंक्तिमा गठबन्धनप्रति त्रास रहेको भन्दै आफूहरु बलियो बने गठबन्धन त्यत्तिकै कमजोर हुने बताए। एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा उनले भाकल गरेर मात्रै गठबन्धन कमजोर भने नहुने बताए।
'गठबन्धन भयो भने हामी कसरी जित्ने होला भन्ने मनोविज्ञान छ। यो गठबन्धन के हुन्छ कमरेड भनेर मनोवैज्ञानिक त्रास छ। त्यसको उत्तर के?', उनले भने, 'सोझो उत्तर के भने, त्यसलाई कमजोर बनाउने भनेको आफू बलियो हुने हो। हामी बलियो हुन सक्छौं कि सक्दैनौं? हामी बलियो भयौं भने गठबन्धन कमजोर हुन्छ। तर हामी बलियो भएनौँ भने भाकल गरेर गठबन्धन कमजोर हुँदैन।'
पोखरेलले गठबन्धनले गरेका कुकृत्यहरुको भण्डाफोर गर्नुपर्ने बताए। उनले आफ्नो पंक्तिलाई अहिले पनि एकतावद्ध गर्ने, पार्टीमा प्रवेश गरेकाहरु लल्लरीबिल्लरी भएर त्यत्तिकै अलपत्र भएका छन् कि, प्रवेश गरेकाहरुलाई व्यवस्थित गर्ने, पार्टी सदस्यता प्रदान गर्ने र सदस्यता प्राप्त गरेकाहरुलाई संगठित गर्ने जस्ता काममा ध्यान दिन आग्रह गरे।
उनले गर्नुपर्ने काम नगर्ने र गठबन्धन टुट्छ कि टुट्दैन, गठबन्धन भयो भने कसरी जित्ने जस्ता ध्यान दिइएकोमा असन्तुष्टि जनाए। 'अहिले पनि सर्वाधिक लोकप्रिय मत हामीले प्राप्त गरेका छौं। तर सिटसंख्या अलिकति कम आयो किन? हाम्रो व्यवस्थापकीय कमजोरी भयो। त्यो नभएको भए हाम्रो यो परिणाम हुने थिएन', उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १४ : ०७
लेखकबाट थप