‘विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ’: राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १३ : ०१
‘विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ’: राष्ट्रपति भण्डारी

काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको बताएकी छन्। 

ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोणहरू हाम्रो संविधानमा अभिव्यक्त भएका छन्। हामीले करिव सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौँ, किनभने यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने हाम्रो विश्‍वास रहेको छ।’

उनले सबै प्रकारको युद्धको विरोध गर्दै राष्ट्रहरूका बिचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने बताइन्। 

उनले भनिन्, ‘विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ भन्ने हाम्रो सुदृढ विश्वास रही आएको छ। संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित  शान्तिपूर्ण सहअस्तित्व, विश्‍व-बन्धुत्वको भावना, अनाक्रमण र अ-हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको छ।’
 

प्रतिक्रिया दिनुहोस