एसपिपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १६ : २६
एसपिपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको : मन्त्री श्रेष्ठ

काठमाडौँ  । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले एसपिपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। मन्त्री श्रेष्ठले विदेशी कूटनीतिज्ञहरुको भ्रमण हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिन आग्रह गरे। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको दोस्रो पटकको नेपाल भ्रमणबारे सञ्चारकर्मीहरुको प्रशनको उत्तर दिँदै उनले विदेशी कूटनीतिज्ञहरु आउँदा शंका गर्ने नभई भ्रमणलाई देशको सुशासन, समृद्धि र विकाससँग जोड्ने कुरामा जोड दिनुपर्ने बताए।

उनले गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबी गर्दै तत्काल एमालेसँग गठबन्धन गरेर चुनावमा जाने कुनै योजना नरहेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले संघीय निजमती ऐनलाई मन्त्रालयले अघि बढाएको बताए। उनले मन्त्रालयले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान भनेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रतिष्ठान बनाउन लागेको र त्यहाँ संघीयताबारे अध्ययन अनुसन्धान गर्ने बताए।

उनले सबै क्षेत्रमा संघीय मामिलासम्बन्धी कामलाई व्यवस्थित रुपमा अघि बढाएका उल्लेख गर्दै कर्मचारीतन्त्रलाई नयाँ ढंगले पुनर्संरचना गर्दै कर्मचारीमैत्री ऐनको व्यवस्था गर्ने घोषणा गरे।मन्त्री श्रेष्ठले पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै पार्टीबाट फुटेर नयाँ पार्टी दर्ता गर्नुको कुनै औचित्य नरहेको बताए।

प्रतिक्रिया दिनुहोस