पर्यटनमन्त्री श्रेष्ठसँग पोल्याण्डका राजदूत बुराकोव्स्कीको शिष्टाचार भेट

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १५ : ४७
पर्यटनमन्त्री श्रेष्ठसँग पोल्याण्डका राजदूत बुराकोव्स्कीको शिष्टाचार भेट

काठमाडौँ  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवाशीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६३ वर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ मझबुत बनाउनुपर्नेमा जोड दिए। पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले बताए। 

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजना अनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराए। पोल्याण्डमा उच्च अध्ययन र  रोजगारीको सिलसिलामा नेपालीहरु जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रकृयामा सरलीकरण गर्नेबारेमा पनि उनीबीच छलफल भएको थियो। 

मन्त्री श्रेष्ठले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन संगठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा ईयुले सुरक्षा सम्बन्धी सूचीमा राख्न नहुने धारणा राखेका थिए। आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा कम्पनीहरु सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका थिए। 

राजदूत बुराकोव्स्कीले सन् १९९२ मा कन्चनजंगा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिएका थिए। 

रुटकिविज युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुन् भने केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन्। भेटवार्तामा उनीहरुबीच नेपालको पर्यटन प्रवर्द्धनका उपायहरुबारे छलफल भएको थियो।
 
भेटमा मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस