नेपालमा ‘रेड लाइट एरिया’ को आवश्यकता भइसक्यो : सांसद महत

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, ११ : ५४
नेपालमा ‘रेड लाइट एरिया’ को आवश्यकता भइसक्यो : सांसद महत

काठमाडौँ  ।  प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले यौन हिंसाका घटना बढिरहेको भन्दै अब ‘रेड लाइट एरिया’ अर्थात् यौन व्यावसायिक क्षेत्र घोषणा गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।यौन क्रियाकलाप मानव जीवनसँग जोडिएको शारीरिक आवश्यकता भएकाले कडा कानुन बनाएर दबाउन खोज्नु उचित नहुने उनको तर्क छ । ‘रेड लाइट एरिया’ को विषयलाई सांसद महतले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि उठाएका थिए ।  

‘प्रतिनिधिसभा सदनमा यौन हिंसाको उजुरी दिने समयावधि बढाउने बारेमा छलफल भइरहेको थियो । यौन हिंसालाई नियन्त्रण गर्नको लागि ठूलो सजाय दिनुपर्छ, कडा कानुन बनाउनुपर्छ भन्ने सवाल उठेका थिए । त्यसमा मेरो मत फरक थियो । यौन हिंसालाई त्यही कारणले निरुपण गर्नुपर्छ । कानुन मात्र कडा बनाएर, सजाएर मात्र हुँदैन । सहवास भन्ने कुरा खाना र पानी खाए जस्तो हुन्छ । यो शारीरिक आवश्यकतासँग जोडिएको छ,’ सांसद महतले फरकधारसँगको कुराकानी भने । संवादकै क्रममा सांसद महतले २०४५ सालतिरको खुला यौन व्यापारबारे स्मरण गरे । त्यतिबेला नेपालगञ्जको गगनगञ्ज क्षेत्र खुला यौन व्यवसायका लागि प्रख्यात रहेको उनी सम्झिन्छन् ।

‘२०४५ सालतिर नेपालगञ्ज घुम्न जाँदा हामीले देख्थ्यौँ । त्यहाँ गगनगञ्ज भन्ने ठाउँ थियो । पहाडबाट झरेका मान्छेहरू, भारतबाट आएका मान्छेहरू त्यहाँ जान्थे र फ्रेस हुन्थे । हाम्रो गाउँलेहरु जान्थे । नजिकै चौकी पनि थियो । तर, प्रहरीले नदेखे झै गर्थ्यो । त्यहाँ युवा युवतीहरू निस्फिक्रीका साथ सहवास गर्थे । उनीहरूको च्वाइसअनुसार सहवास हुन्थे । उनीहरू त्यहाँ फ्रेस हुन्थे । त्यतिबेला पनि ‘फ्रेस एरिया’ त रैछ नि त,’ सांसद महतले भने । 

प्रतिनिधिसभामा धेरै सांसद ‘फ्रेस एरिया’ हुनुपर्छ भन्ने धारणा रहेको उनी बताउँछन् । खुला यौन व्यवसायको विषयलाई चाँडै विधेयकको रूपमा अगाडि बढाउनुपर्ने बेला भइसकेको महतको भनाइ छ । साथै, खुला यौन व्यवसायले मान्छे फ्रेस भएर यौन हिंसासमेत घट्ने उनको तर्क छ ।

‘अब त्यो फ्रेस एरियाको बारेमा अहिलेको सरकारले किन नसोच्ने? फ्रेस एरिया भएपछि यौन हिंसा धेरै कम हुन्छ । मान्छे फ्रेस भइसकेपछि पढ्ने मान्छे पढ्नतिर लाग्छ, व्यवसाय गर्ने मान्छे व्यवसाय गर्नतिर लाग्छ । युवाहरूलाई त्यो नभइ नहुने कुरा हो । मान्छेहरू जंगलतिर गइराख्या हुन्छन्, पार्कतिर गइराख्या हुन्छन् । होटलतिर गए प्रहरीले समाउँछ,’ सांसद महतले भने, ‘यो त नभइ नहुने कुरा हो । मान्छेले खिसिटिउरी गर्छन्, यो रोकेर राख्न सकिने कुरा होइन । प्रतिनिधिसभामा धेरै सांसदहरू फ्रेस एरिया हुनुपर्छ भन्ने छ । यसलाई विधेयकको रूपमा अगाडि बढाउनुपर्ने बेला भइसकेको छ, ढिलोचाँडो फ्रेस एरिया बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस