सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक: अञ्जना विशंखे

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १६ : १४
सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक: अञ्जना विशंखे

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले सरकारले वास्तविक तथ्यांक आउने गरेर विधेयक ल्याउन आवश्यक रहेको बताएकी छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले तीन तहकै सरकारले तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तथ्यांक विधेयक ल्याउनुपर्नेमा जोड दिइन्।सांसद विशंखेले नेपालको तथ्यांक मिथ्यांक भइरहेको भन्दै यो विधेयकले मिथ्या तथ्यांकलाई व्यवस्थित गर्न सक्नुपर्ने बताइन्।

उनले भनिन्, ‘तथ्यांकमा के देखिन्छ भने तथ्यांक जहिल्यै संघीय हिसाबले लिने गरिन्छ। व्यवस्थित ढंगले तीन तहको सरकारमा तलैसम्म तथ्यांकलाई व्यवस्थित गर्ने र जिडीपी ग्रोथको बारेमा अझ व्यवस्थित ढंगले तीन सरकारको संरचनामा कसरी काम गराउन सकिन्छ भन्ने बारेमा पनि तथ्यांकको विषय आउन जरुरी छ। नेपालको तथ्यांक मिथ्यांक पनि भइरहेको छ, यो विधेयकले व्यवस्थित गराओस् भन्ने लाग्छ। नेपालमा दलित समुदाय २० प्रतिशत छन् भनेर गैरसरकारी संस्थाले जहिल्यै भनिरहेको छ। तर हाम्रो सरकारको आँकडामा १३ प्रतिशत भन्ने छ।

तथ्यांक विधेयकले संरचनागत ढंगले कसरी हल गर्ने? र सत्यतथ्य कसरी ल्याउने? यसमा सोच्नुपर्छ। हामीले नेपाल हिन्दुराष्ट्र हो र ८०-९० प्रतिशत हिन्दुहरू छन् भन्ने गरिन्छ। तर डेटा अर्कोतिर अरू धर्मावलम्वी र अरूको डेटा लिने हो भने ८० प्रतिशत पुग्दैन। तथ्यांक विभागले फर्महरू बनाउँदै वास्तविक तथ्यांक कसरी ल्याउने भन्ने बारेमा सोच्नुपर्छ।’

नेपालमा वास्तविक तथ्यांक नहुँदा कठिनाइ आइरहेको भन्दै तथ्यांक विभागले फर्महरू बनाउँदै वास्तविक तथ्यांक ल्याउन आवश्यक भएको संसद विशंखेकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस