काठमाडाैँ। राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिचाइँ गरेर ल्याएको आरोप लगाएकी छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै एमालेबाट राष्ट्रिय सभा सदस्य रहेकी पौड्यालले विधेयकलाई सरकारले बलमिचाइँ गरेर ल्याएको बताएकी हुन्। राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै सो प्रक्रियाप्रति असहमति व्यक्त गरिन्।
उनले विधेयक प्रक्रिया मिचेर ल्याउनुले संसदको अवमूल्यन गरेको टिप्पणी गरिन्। यो विधेयकले सांसदहरुको स्वविकेकको निर्णय गर्ने अधिकारको पनि अवमूल्यन भएको उनको भनाइ छ। ‘यो प्रक्रियामा एकदमै धेरै असहमति छ। जुन तरिकाले प्रतिनिधि सभाबाट हाम्रो सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असहमति छ’ उनले भनिन् ‘यो विधेयक पहिलेको सरकारले प्रतिनिधि सभामा पेस गरेर २२ महिना प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा आएर प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनलाई केही सच्याउनैपर्ने प्रावधान भए त्यही प्रतिवेदनमा संशोधन गरेर, संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउनसक्यो। त्यो नगरिकन एकदमै अनाहक रुपमा यो विधेयकलाई फिर्ता लगेर कसको दबाब, कसको इन्ट्रेस्ट, कसको चालमा के भइराखेको छ थाहा छैन।’
‘सरकारले बलमिचाइँ मात्रै गरेको छैन। संसदको अवमूल्यन गरेको छ। सांसदको स्वविवेक निर्णय गर्नेको पनि अवमूल्यन गरेको छ ’ उनले भनिन् ‘गठबन्धनको नेताहरुको बलमिचाइँ देखिएको छ। यो प्रक्रियामा मेरो असहमति छ।’
उनले वैवाहिक अंगिकृतको सात वर्षे प्रावधान हटाइएकोमा पनि बिरोध गरिन्। प्रतिनिधि सभाले सात वर्षे प्रावधान राख्न खोज्दाखोज्दै सरकारले बलजफ्ती गरेको उनको भनाइ छ।
सांसद पौड्यालले छोराले विदेशी बुहारी ल्याउँदा सहजै नागरिकता पाउने तर छोरीले विदेशीसँग विवाह गरेमा नागरिकता दिने व्यवस्था नराख्नुको लैंगिक विभेद र पितृ सत्ताको बलमिचाइँ प्रष्ट रुपमा देखिएको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १३ : ४६
लेखकबाट थप