काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् ।
आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्य समितिले ‘नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए। अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्नेलगायतका विषयहरु सामान्य विषय बनेको उनको भनाइ छ।
उनले भने, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन। देश एकप्रकारले पूर्णरुपले अभिभावकविहीन बनेको छ। अहिलेका राजनीति दल, जनताको जीउधनको रक्षाको जिम्मा लिएको सरकार सत्तामा टिक्नको लागि जेपनि गरिरहेको छ। भ्रष्टाचार त समान्य विषय भएको छ।’
अध्यक्ष लिङ्देनले नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए। उनले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे।
देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला आएको उनको भनाइ छ। उनले अहिले सत्तामा रहेका दल र नेतृत्वबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे।
अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए। आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने लिङ्देनले उद्घोष गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १६ : ३०
लेखकबाट थप