ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट

बुधबार, २३ जेठ २०७५, ०९ : ५९
ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट

ग्वाटेमाला । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् । फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ । आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन् ।

अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन् । तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन् ।  ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन् ।  ज्वालामुखीसम्बन्धी विज्ञहरूले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलवार बताएका थिए ।

ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले आगामी केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएका थिए ।
मंगलवार नयाँ विस्फोट भइरहँदा आपत्‌कालीन सेवाका अधिकारीहरूले शवको खोजी गरिरहेका थिए ।

ग्वाटेमालाको विपद्‌ नियन्त्रण निकायका प्रमुखले आइतवार ज्वालामुखी विस्फोट हुनुअघि कुनै चेतावनी जारी नगरिएको बताएका छन् ।
स्थानीयबासिन्दाहरूले आपत्‌कालमा बच्ने उपायबारे प्रशिक्षण लिए पनि एकदम छिटो ज्वालामुखी विस्फोट भएकोले उनीहरूले सिकेका कुरा लागु गर्न नसकेको उनको भनाइ छ ।

ज्वालामुखीसम्बन्धी एकजना विज्ञले ज्वालामुखीबाट निस्किरहेको खरानी र हिलो खतरनाक भएको भन्दै त्यसलाई नजरअन्दाज गर्न नहुने बीबीसीलाई बताए । - बीबीसी

प्रतिक्रिया दिनुहोस