काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई–मधेशका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् ।उनले भने, ‘लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यावहारिक रूपमा कार्यान्वयन भएको छ ।’
सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रवार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गरे ।
‘तपाईंहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ,’ उनले भने, ‘नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ ।’
मधेशी जनताको चाहनाअनुरूप शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उनले दाबी गरे । ‘चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ,’ पूर्व प्रधानमन्त्री दाहालले भने, ‘नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनताको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, ०७ : २१
लेखकबाट थप