भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नगरौँ : दुर्गा पौडेल

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १४ : २४
भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण नगरौँ : दुर्गा पौडेल

काठमाडौँ  । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छिन् । शुक्रबार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् ।  उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन् ।

'वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर, भारतमा चुनाव हारेर नेपालको संसद हुने गरी नागरिकता वितरण गर्नुभएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ' उनले भने ।सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन् । उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने प्रावधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रूपमा धेरै ठूलो क्षति हुने दाबी गरिन् । 

सांसद पौडेलले अंगीकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताइन् । उनले कुनै पनि देशले आफ्नो भौगोलिक अवस्था, सीमाको अवस्था आदिको सर्वपक्षीय मूल्यांकन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताइन्  । 

सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताइन् । उनले बुबा र आमा दुबै वंशजका छन भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस