छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि जारी

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १३ : २६
छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि जारी

काठमाडौँ  ।  बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि जारी छ।

संसद् सचिवालय सिंहदरबारमा जारी बैठकमा आन्तरिक विषयमा छलफल भइरहेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। त्यस्तै आजबाट समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ शुरु गर्ने बताइएको छ। तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९।०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएर करको दर हेरफेर गरेको आरोप लागेको छ।

अर्थमन्त्रीमाथि छानबिन गर्न चौतर्फी दबाब आएपछि असार २२ गते ११ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो। समितिलाई छानबिनका लागि १० दिनको म्याद दिएको थियो तर दिइएको समयमा छानबिन नसकिएपछि हिजो ७ दिनको म्याद थप गरिएको छ।

हिजो निवर्तमान अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो। जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद भएकाले हर्डडिस्क नै मगाएर समितिले छानबिन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस