काठमाडौं । जनवादी गणतन्त्र लाओले नेपालका लागि वाणिज्य दूत (कन्सुलर)मा व्यवसायी राजु श्रेष्ठलाई नियुक्त गरेको छ । पर्यटन व्यवसायी श्रेष्ठलाई बिहीबार आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ् र शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदीले वाणिज्य दूतको प्रमाणपत्र प्रदान गरे ।
श्रेष्ठलाई वाणिज्य दूतमा नियुक्तिसँगै लाओको महावाणिज्य दूतावास काठमाडौंमा स्थापना भएको छ । काठमाडौंको ठमेलस्थित नेपाली घरमा स्थापित महावाणिज्य दूतावासको बिहीबार दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ्ले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नवनियुक्त वाणिज्य दूत श्रेष्ठले नेपाल र लाओबीच सन् १९६० मा द्विपक्षीय कुटनीतिक सम्बन्ध विस्तार भएको स्मरण गर्दै आफूले दुई मुलुकबीचको कुटनीतिक तथा आर्थिक सामाजिक सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने प्रतिवद्धता जनाए ।
श्रेष्ठले नेपालका ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतले लाओवासीको आँखाको उपचारका लागि क्याम्प चलाएको जानकारी दिँदै आगामी दिनमा पनि यसरी नै आपसी सम्बन्ध विस्तार गर्दै लैजाने जानकारी दिए ।
कार्यक्रममा थत लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङले पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा नेपालसँग लाओवासीले सहकार्य गर्न चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, २० : १२
लेखकबाट थप