डिएसपी केसी, सई सञ्जेल र फरार गोरेबीच यस्तो भएको थियो फोन कुराकानी

सोमबार, २१ जेठ २०७५, ०९ : ०७
डिएसपी केसी, सई सञ्जेल र फरार गोरेबीच यस्तो भएको थियो फोन कुराकानी

चितवन । तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्य हत्या भयो । हत्याको जानकारी पाएपछि महानगरीय अपराध महाशाखाको टोली घटनास्थल जान काठमाडौंबाट हिँड्यो । घटनाबारे खबर गर्ने चुडामणि उप्रेती ‘गोरे’ प्रहरी टोली बीच बाटोमा हुँदै भागे । उनी भारत पुगे ।

डिएसपी प्रजित केसीको नेतृत्वमा गएको टोलीले सनमको शव भेटेर मुचुल्का तयार पार्‍यो । त्यसपछि गोरेसँग डिएसपी केसी र सई सञ्जेलले कुराकानी गरे ।

सुरुमा गोरे र सञ्जेलबीच कुरा हुन्छ । पछि सञ्जेलले फोन केसीलाई दिन्छन् । अडियोमा केसीले गोरेलाई हामीले तिमीलाई बचाएका छौ, प्रतिवादी बनाएका छैनौ तिम्रो नाममा मुद्दा चल्दैन भनेर सम्झाएका छन् ।

यस्तो छ टेलिफोन संवाद

गोरेः हलो, हजुर मामा ।

सञ्जेलः  हजुर भान्जा, अहिले भान्जी (गोरेको श्रीमती)ले फोन गर्नुभएको थियो ।

अब हाम्रो प्लान क्यान्सिल भयो हैन भान्जा, मलाई धोकैधोका, तिम्रो मोहनेसोहने सबै चोरहरु हुन्, मालका बारेमा उनीहरुलाई पनि थाहा छ । हिजो तिमीले फोन गरेका बेला उनीहरुले सुनेका रैछन ।   तिमीहरूलाई पनि ट्रयापमा पार्ने र मलाई पनि पार्ने रहेछन् । मैले मिलाए पनि उनीहरूले तिमी हामीलाई ट्रयापमा पार्ने रहेछन् ।

यिनीहरूले मिलाउने भए केही छैन । भोलि किटानी पर्छ । गोरेले होइन भने भने तिमी त बाँच्यौ नि त ।

हाम्रो प्लान अनुसार नमिले पनि, जस्तो मुचुल्का गरेर तिमीलाई छोड्ने थियो । सरले तेरो भान्जाले धोका दियो पैसा पनि गरेन भन्नुभयो ।  मैले पैसाको कुरा मिलाएँ, सर अहिले गाह्रो छ भनेर मैले मिलाएँ ।

गोरेः पैसाको चिन्ता नलिनु, अहिले ५० लाख जति लिनु ।

सञ्जेलः हैनहैन भान्जा, त्यसो हैन मैले पैसाको कुरो मिलाएँ ।

यो मोहनेहरू हरामी रैछ ।  हाम्रो प्लान यस्तो थियो भनेर अरूलाई सेयर गरिसकेका रहेछन् । नम्बर लिने हामीलाई अप्ठेरो पार्ने योजना गरेछ । तिमी यहाँ भएको भए सबै कुरा मिलिसक्थ्यो । मुचुल्का गरेर हामी कागज लिएर जान्थ्यौं । तिमी आफ्नो साइड लाग्थ्यौ ।

पछि पनि तिमीलाई बचाउने ठाउँ छ। उनीहरुको योजना तिमीलाई फसाउने छ । अब पछि पनि तिमीलाई बचाउने ठाँउ छ, के छ भने तिमीले फकाएर यो थिएन भन्दिए भने। तर उनीहरुको प्लान तिमीलाई फसाउने छ, सामानहरु त यिनीसंग छ, ।

यीनीहरुलाई संगै राखेर ल्याप्चे राखेको भए हुन्थ्यो ।

गोरेः अब के गर्ने त?

सञ्जेलः अब मैले तेत्रो भनेको । विश्वासघात भयो । भान्जीले मसँग रुदै फोन गरिन् ।

तिमीले सबै चिनेको रहेछौ सबैले कुरा आउट गरिसके ।

गोरेः नाइँ मामा नाइँ । अरुलाई भनेको छैन ।

सञ्जेलः त्रिशुलीमा हालेको भए के हुन्थ्यो भन त । (सनमको लास त्रिशुलीमा फाल्ने योजना) त्यो कुरा पनि मोहनेले भनेको, कुनचाहिँ डिएसपी हो कि एसपीले भनेको रे ।

गोरेः २/३ ओटा अप्सन भएका थिए। त्यो प्लान मेरो होइन, म त्यस्तो पनि गर्दिनँ ।

सञ्जेलः मोहने तिम्रो मान्छे होइन, सबै कुरा गोरेले गरेको भनेको ।

तिमी अएको भए, सूचना दिने तिमी हो भनेर बचाउने थियांै, तिमी नआएर सबैले बिगारे ।  त्यसमा तिम्रो नाम राख्न लागेका थियौं ।

गोरेः अपराधी म होइन, अलिअलि झापड हान भनेको हो m। मैले मारेको त होइन नि ।

सञ्जेलः होइन । त्यो यिनीहरुले पनि भनिराछन् । उसको बफादारी देखाएको हो, योजना बनाउने तिमी हो भनेका छन् । पानी पनि खान नदिइकने मार्ने उसको आदेश हो भनेका छन् । उसले नहान भन भनेको भए हान्थेन पनि भनेका छन् ।

ल ल सरसँग कुरा गर ।

गोरे र सञ्जेलले यति कुरा गरेपछि सञ्जेलले फोन डिएसपी केसीलाई दिन्छन् ।

गोरेः हलो

केसीः हलो

केसीः तिमीले थाहा पाइहाल्यौ होला, तिमीहरुको भित्री कुराहरु के के भएको छ, त्यो हामीलाई थाहा हुदैन ।

तिमी यहाँ मात्र भएको भए सबै कुरा कन्ट्रोल हुन्थ्यो । अहिले त कहिँ पनि नाम राखेको छैन, तिमीले नै हामीलाई सूचना दिएर भन्थ्यौं । कस्तो राम्रो प्लान फुत्कायौ ।

ठिकै छ, तिमीले खबर दिएको, इन्डियनहरू आएर यसो गरेको रहेछ, भनेर खबर गरिरको छु । सुन ल्याएर आउनुमा उसको हात छ, भनेको छु । तर मारेको हैन भनेको छु । सबै कुरा ढाट्नु हुदैन के । के गर्ने सबै बिगा¥यौ ।

गोरे : त्यसले मलाई सिध्याउनै खोजेको रहेछ ।

केसीः अनि त। सबै कुरा भनिराछ, मुला ।

तिम्रो त्यो एसपीसँग भएको कुरा हामीलाई के थाहा हुन्छ, त्यो कुरा मोहनले भनेको ।

यति कुरा पछि गोरेले खाना खाएर कुरा गर्ने भन्छन् । डिएसपी केसीले पनि ल ल खाउ अनि कुरा गरौला भनेर फोन राख्छन् ।

केहीबेरमा फेरि कुरा हुन्छ ।

गोरेः हलो हलो

केसीः हलो अघिनै फोन गरेको मिसकल भएछ ।

गोरेः भन्नु न ।

केसीः अघि नै कुरा भयो त्यही त हो नि ।

गोरेः अँ, त्यसो भए केही अप्सन छैन ।

केसीः अरु के अप्सन चाहिन्छ? सबै कुरा मिलेकै त  छ  नी । केही कुरा बिग्रेको छैन ।

गोरेः मिलिसक्यो?

केसीः मिलिसक्यो, तिमीहरूले के–के कुरा बिगारे भन्थे । थाहा छैन ।

गोरे : मामाले के कुरा मिलेको छैन भन्दै छन् त ।

केसी : मामाले के भने र?

गोरे : सञ्जेल मामाले मोहनेले खै के भन्यो भन्दै....।

केसी : तिनीहरूले के के भने । त्यो  त मलाई पनि राम्रोसँग थाहा छैन ।  हामी तिमीलाई प्रतिवादी बनाउदैनौं, हामीले तिम्रो नाम फरारमा राख्दैनौ के ।  तिमीलाई प्रतिवादी बनाएर मुद्दा चलाउदैनौं । यिनीहरूले के के भन्छन् मेरो ग्यारेन्टी भएन । तर हामी गर्दैनौं, ढुक्क बन ।

गोरेः अलि मजाले सम्झाइदिनु त ।

केसीः मजाले सम्झाउँदा कस्तो हुन्छ भने, मुद्दा चलाउँदा  सरकार वादी र अर्को प्रतिवादी हुन्छ । जसलाई मुद्दा चलाइन्छ ।   त्यसमा प्रतिवादीको नाम हालिदैन, नहाल्ने त्यसमा । भनेपछि तिम्रो विरुद्धमा मुद्धा चलेकोे होइन । बुझ्यो कुरा त्यही गर्ने भनेको हो ।

तिमी यहाँ भएको भए सबै सकाइदिन्थे, आऊ न पछि बसेर कुरा गरौंला ।

गोरेः फरारमा हालेको छैन?

केसीः छैन  भन्या । तिमी कुरै बुझ्दैन रैछौ यार । फरार भनेको प्रतिवादी नाम हालेर मान्छे भेटेन भने त्यो फरार हुन्छ क्या ।

गोरे : फरारमा हाल्देको छ?

केसी : छैन, तिमी नेपाली बुझ्दैनौ क्या हो । प्रतिवादीमा पनि हालेको छैन त कसरी फरार हुन्छ? बुझेनौ कुरा ।

गोरे : मामाले त तिम्रो मान्छेले के के भन्यो भन्दै थिए त ।

केसी : तिम्रो मान्छेले के के भन्यो बयान लिएको छैन अहिले । तिम्रो मान्छेले बढ्ता कुरा त गरिरहेको छ, नचाहिने कुरा ।

तिम्रो नाम प्रतिबादीमा हालेको छैन के । तिमीलाई विपक्षी बनाएको छैन, तीनीहरूले के कसो भने मलाई थाहा छैन तर हामीले मुद्दा चलाउनेमा तिम्रो नाम हालेका छैनौं । तर फरक पर्दैन पछि मिलिहाल्छ। पछि तिम्रो वकिल राम्रो भए तिनीहरुले मिलाइ हाल्छन् केही फरक पर्दैन ।

फोनमा कुरा गरेर भएन के, तिमीसँग एक पटक भेट्नु पर्यो । एक पटक भेटौं, कता भेट्ने हो फोन गर्नू । तिम्रो मामा र म आउँला । भेटेरै कुरा बुझाउँला यस्तो कुरा फोनमा धेरै नगरौं । अब बुझ्यो कुरा ।

गोरेः तपार्इं राम तिवारीलाई चिन्नुहुन्छ?

केसी को?

गोरेः काठमाडौंमा तपाईलाई भेट्न लगाउँछु ।

केसी : को मान्छे हो भनन त । मलाई नम्बर मेसेज गर । उसको नाम नम्बर पठाउन । पहिले हेर्छु, को मान्छे हो, के गर्छ सबै हेर्नु प¥यो नि । मलाई त्यसको नाम र नम्बर पठाऊ ।

गोरेः राम्रो मान्छे हो ।

केसीः राम्रो मान्छे हो? ल ल कल गर न त । ल कुरा गर ।

म सुत्छु। मोबाइल साइलेन्समा राख्छु । बेलुका कुरा गर्छु । ल बाई।

गोरे : ल ल ।

केसी : ल बाई ।

प्रतिक्रिया दिनुहोस