गभर्नर अधिकारीप्रति संसदमा गगन थापाले गरे कटाक्ष

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १३ : ४५
गभर्नर अधिकारीप्रति संसदमा गगन थापाले गरे कटाक्ष

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेकोमा कटाक्ष गरेका छन् । अन्य सांसदहरूले गभर्नर अधिकारीमाथि छानबिनको माग गरिरहँदा गगनले व्यंग्यात्मक कटाक्ष गरेका हुन् । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा महामन्त्री थापाले मौद्रिक नीतिमा केही अपेक्षा रहे पनि त्यो एमालेको अर्थ तथा योजना विभागको सदस्यसँग नभएको बताएका हुन् ।

..मौद्रिक नीति चलायमान हुने गरी ल्याउनुपर्छ । व्यापार घाटा र आकासिलो मूल्यवृद्धिलाई व्यवस्थापन गर्ने गरी ल्याउनु पर्छ । शेयर बजारमा सुधार भनेर ४’१२ को नीति ल्याइयो, यसलाई सच्चाइनु पर्छ, अन्यथा लाखौँ साना लगानीकर्ता सडकमा आउँछन्,’ थापाले संसदमा भने, ‘मैले गरेको सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागको सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

गभर्नर अधिकारी एमालेको अर्थ र योजना विभागको सदस्य रहेको बाहिर आएपछि सांसदहरूले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस