कालु पाँडेको बलिदानको इतिहासलाई स्मरण गर्नुपर्ने

शनिबार, १९ जेठ २०७५, २१ : २८
कालु पाँडेको बलिदानको इतिहासलाई स्मरण गर्नुपर्ने

काठमाडौँ । आधुनिक नेपालको एकीकरणमा काजी कालु पाँडेको दूरदर्शीता र बलिदानीको इतिहासलाई नयाँ पुस्ताले स्मरण गर्नुपर्नेमा जोड दिइएको छ ।

काजी कालु पाँडे – काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठान, पाँडे समाजलगायत संस्थाले योद्धा पाँडेको स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा सहभागी वक्ताले छरिएका राज्यलाई एकतावद्ध गरी नेपाललाई बलियो मुलुक बनाउनमा उनको योगदान अतुलनीय रहेको बताए ।

प्रा। रामकुमार पाँडेले मुलुकको भौगोलिक विस्तारका लागि कालु पाँडेले देखाएको दूरदर्शीता र देशभक्तिका लागि जीवनको उत्सर्ग गरेको घटनालाई अबका पिँढीले प्रेरणाका रुपमा लिनुपर्नेमा जोड दिए ।

चन्द्रागिरी नगरपालिका–१ का वडाअध्यक्ष राजेन्द्र केसीले मुलुकको स्वाभिमानका लागि गर्धन दिएर मृत्युवरण गरेका पाँडेको समाधिस्थलमा उहाँको पूर्ण कदको शालिक निर्माण गरी त्यसलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको बताए ।

उद्यमी भक्त प्रल्हाद पाँडेले काजी पाँडे राजकाजका कार्यमा परिपक्व सुझाव दिनसक्ने तथा जनप्रिय रहेका कारण तत्कालीन राजा पृथ्वीनारायण शाहको मुख्यमन्त्री र प्रधानसेनापतिका रुपमा युद्ध गरी ससाना राज्यसितको युद्वमा सफलता प्राप्त गरेको बताए ।

समाजसेवी दीपक पाँडेले देशको एकताका लागि लडेका वीर योद्धालाई देश र जनताले सम्मान गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रम स्थलमा उनको समाधिस्थलमा नेपाली सेनाले विगुल फुकेर शोक सम्मान अर्पण गरिएको थियो भने राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरिएको थियो । विसं. १८२४ जेठ १९ मा कीर्तिपुरको युद्धमा काजी कालु पाँडे (वास्तविक नाम बंशीधर पाँडे) लाई विरगति प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस