दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्मे भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।
दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजो आज सबैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै छन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् ।
रिमबहादुर सानैमा विद्यालय जान पाएनन् । विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् । आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउछन् । “अरु भाइहरूलाई पढाउन मै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, उनले विगत सुनाए ।
रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन् । श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन् । “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु”, लालमतीले भनिन् । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ ।
रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । “यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ”, उनले भने । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ असार २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाउँको विद्यालय: जहाँ शहरका विद्यार्थी पढ्छन्
विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय
पुस २२ गतेभित्र ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन
१७ वर्षदेखि भुइँमै अध्ययन गर्न बाध्य छन् फतुवाका विद्यार्थी
विपन्न नागरिक र विद्यार्थीलाई न्यानो कपडा वितरण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै