अर्थमन्त्री विवाद

अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीको निष्कर्ष

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १३ : २५
अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीको निष्कर्ष

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटिको वैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ । छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन् ।

पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ । बैैठकमा सहभागी तीन नेताले भने, ‘उहाँले कुनै गलत गर्नु भएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।’

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन भन नेकपा माओवादी केन्द्र तयार देखिएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका छन् । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अगाडि बढ्ने निणर्य गरेको छ । एमाले भने अर्थमन्त्रीलाई सुन्न तयार देखिएको छैन ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस