काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि छलफल सुरु गरेको छ ।
पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपालमा हुने प्रतियोगितामा सहभागिताका लागि साफका महासचिव उग्येन वाङचुकसँग वार्ता गरेको जनाएको छ ।
प्रतिबन्ध फुकुवा भएसँगै साफका केही इभेन्टहरूमा पाकिस्तानले सहभागिताका लागि टिम पठाउने तयारी गरिरहेको पाकिस्तान फुटबलले जनाएको छ । महिला साफ च्याम्पियनसिपको छैटौं संस्करण १३ देखि २५ भदौसम्म नेपालमा हुने तय भएको छ । यसअघि सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एक सामान्यीकरण कमिटी गठन भएको थियो । जसले पिएफएफलाई पूर्णरूपमा आफ्नो मातहतमा ल्याएपछि फिफाले प्रतिबन्ध पछिल्लो हप्तामात्र प्रतिबन्ध फुकुवा गरेको थियो । यद्यपि, उक्त कमिटीलाई स्वतन्त्र रूपमा काम गर्न नदिएमा फेरि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असार २०७९, १७ : ३४
लेखकबाट थप