काठमाडौँ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालु अधिवेशनमै नागरिकता ऐनसम्बन्धि विधेयक पारित हुने बताएका छन्।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसमेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशनभित्रै पारित हुने बताएका हुन्।
६४ औँ संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐनसम्बन्धि विधेयकमा धेरै विवादहरू रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए।
मन्त्री काेइरालाले भने, ‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरूको पनि प्रमुख सरोकारको विषय हो। केवल सरकारको मात्रै होइन। यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रू गर्ने गर्ने कुरालाई चाहिँ सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ। म उहाँहरूको त्यो सकारात्मक कुरालाई एप्रिसिएट गर्न चाहन्छु। यसलाई विवादरहित ढंगले, त्यहाँ तमाम विवादहरू छन्- नागरिक ऐनसम्बन्धि विधेयकमा। राज्य व्यवस्था समितिमा गएर पनि विवादसहितको डकुमेन्ट आएको छ। तर ती विषयहरूमा पनि सिटिजनसिपजस्तो विषयमा हामीले विवाद गर्नु हुँदैन। त्यसैले साझा धारणा बनाएर यसलाई अघि बढाऔँ भन्ने विषयमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्ष सहितका अरू साथीहरू धेरै सकारात्मक हुनुहुन्छ। यो चाँडै आउँछ।’
उनले संसदलाई प्रभावकारी बनाउन सांसदहरूले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। केही सांसदहरूलाई छोडेर भन्ने हो भने सांसदहरूको उपस्थिति नै नभइदिँदा संसदले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाइ हुन गएको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १५ : २३
लेखकबाट थप