काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।
आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाही फिर्ता गरिदिन मिश्रले पार्टी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।
मिश्रले आफ्ना कमजोरी र त्रुटिप्रति क्षमायाचना गर्दै भनेका छन्, ‘दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।’
दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका सबैलाई पुनः पार्टीमा फर्किएर सामेल हुनसमेत मिश्रले आग्रह गरेका छन् ।मिश्रले प्रस्तुत गरेको दस्तावेजलाई लिएर पार्टीमा दुई लाइन संघर्ष देखिएपछि विवेकशील साझामा विवाद भएको थियो । मिश्रले दुई तिहाईले आफ्नो दस्तावेज पारित भएको घोषणा गर्दै विरोध गर्ने संयोजक पाण्डेलगायतका केन्द्रीय सदस्यहरूलाई कारबाही गरेका थिए ।
मिश्रको आग्रह बमोजिम कारबाही फिर्ता भए विवेकशील साझा पार्टीको नेतृत्वमा पाण्डे पुनर्स्थापित हुनसक्ने पार्टीका एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, १३ : ११
लेखकबाट थप