महानगरले बजार क्षेत्रमा फुटपाथको व्यापार बन्द गराउने

मंगलबार, ०८ जेठ २०७५, १३ : ३१
महानगरले बजार क्षेत्रमा फुटपाथको व्यापार बन्द गराउने

चितवन । भरतपुर महानगरपालिकाले फुटपाथको व्यापार हटाउने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सोमबार बसेको बजार व्यवस्थापन समितिको बैठकले जेठ १४ गतेदेखि नारायणगढ क्षेत्रमा फुटपाथको व्यापार बन्द गराउने निर्णय गरेको हो ।

बैठकले भरतपुर महानगरपालिकाको लायन्सचोकदेखि पुल्चोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गदेखि ५०० मिटर भित्रसम्म, बजार क्षेत्र, फुटपाथ र ठेला व्यवसायलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । बैठकले यस्तो व्यापार व्यवसाय गर्न चाहने व्यक्तिलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको बालकुमारी माविको जग्गामा फुटपाथ व्यवसाय सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।

यसैगरी बैठकले महानगरपालिकाको नारायणगढ बजार क्षेत्र र भरतपुरको मुख्य बजार क्षेत्रमा आफ्नो पसल अगाडि सडक अतिक्रमण गरी सामान राख्ने कार्यलाई निषेध गर्ने निर्णय गरेको छ । अटेर गरी सामान राखेको पाइएमा जफत गर्ने निर्णय बैठकले गरेको महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो । फुटपाथ र ठेला व्यवसायलाई पूर्णरुपमा निषेध गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस