अटो रिक्सा दर्ता रोक्न भरतपुर महानगरपालिकाले चिठ्ठी लेख्यो यातायात मन्त्रालयलाई (पत्रसहित)

मंगलबार, ०८ जेठ २०७५, १३ : १२
अटो रिक्सा दर्ता रोक्न भरतपुर महानगरपालिकाले चिठ्ठी लेख्यो यातायात मन्त्रालयलाई (पत्रसहित)

चितवन l भरतपुर महानगरपालिकाभित्र अटोरिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि महानगरले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको छ । महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरी महानगरभित्र सञ्चालन हुने गरी इरिक्सा वा अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्न अनुरोध गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभएको सो पत्रमा यसअघि गत वर्षको जेठ ७ र भदौ २१ गते यस कार्यालयबाट पत्रचार गरिएकामा दर्ता प्रक्रिया रोकिएको भनी कार्यालयमा पत्र प्रेषित भएको तर तीन पाङ्ग्रे अटो रिक्सा दर्ताको प्रक्रिया नरोकिएको उल्लेख छ । पत्रमा अब पनि अटो रिक्सालाई यस महानगरपालिकाभित्र अनुमति दिन नसकिने हुँदा यसरी महानगरपालिकाको स्वीकृतबेगर अटोरिक्सा वा अन्य तीन पाङ्ग्रे सवारी साधन महानगरपालिकाको क्षेत्रभित्र सञ्चालन हुने गरी दर्ता अनुमति रोक लगाइदिन आग्रह गरेको छ ।
जिल्लामा इरिक्सा एक हजार र अटो रिक्सा तीन हजारभन्दा बढी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार ७० प्रतिशत हाराहारी तीन पाङ्ग्रे इरिक्सा र अटो रिक्सा महानगरको मुख्य बजार क्षेत्रमै गुड्ने गर्छन् । जिल्लामा मोटरसाइकलको संख्या ७० हजार छ । तीन पाङ्ग्रे चलाउने ४० प्रतिशतको चालक अनुमतिपत्रसमेत नभएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस