वडास्तरीय सिलाईकटाई तालिम सुरु

सोमबार, ०७ जेठ २०७५, १६ : २१
वडास्तरीय सिलाईकटाई तालिम सुरु

चितवन । आर्थिक रुपमा विपन्न रहेका महिलालाई लक्षित गरी छमहिने सिलाईकटाई तालिम सुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ ले वडामा रहेका ३२ वटा टोलका ४० जना महिलालाई सिलाईकटाई तालिमको आयोजना गरेको हो ।
सोमबार भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रमणि काफ्लेले वडामा रहेका महिलालाई सीप सिकाएर व्यवहारमा उतार्न तालिमको आयोजना गरिएको बताउनु भयो । तालिममा सहभागी महिलाहरु आफैमा नमुना बन्नु पर्ने भन्दै अध्यक्ष काफ्लेले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक एवं वडा सदस्य सरिताकुमारी सुवेदी पाठकले महिला दिदी बहिनीहरुको क्षमता र आर्थिक सबलीकरणका लागि तालिमको आयोजना गरिएको बताउनु भयो । आर्थिक रुपमा कमजोर महिलाहरुलाई तालिममा सहभागी गराइएको जानकारी दिँदै उहाँले प्रशिक्षार्थीहरुलाई आवश्यक कपडादेखि मेशिन, कैँची, धागो, चक लगायतका सामग्री वडाले नै उपलब्ध गराउने बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका वेदप्रसाद अर्याल, नेपाली काँग्रेसका वडा सभापति काशीराम अर्याल, वडा नं ७ का सदस्य राजेन्द्र तामाङ लगायतले सहभागी प्रशिक्षार्थीहरुलाई शुभकामना दिएका थिए । तालिममा शान्ति विश्वकर्मा र युवा कुमारी दाहालले प्रशिक्षण दिनेछन् । 

प्रतिक्रिया दिनुहोस