बागलुङमा ११९ जनाले उम्मेदवारी फिर्ता लिए

पत्रपत्रिकाबाट

शनिबार, १७ बैशाख २०७९, ०८ : ०४
बागलुङमा ११९ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बागलुङका ११९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । उम्मेदवारी फिर्ता गर्ने समय शुक्रबार साँझ ५ बजेसम्म जिल्लाभर ११९ जनाले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन पेश गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।

जिल्लाको ढोरपाटन नगरपालिकाबाट सबैभन्दा धेरै ३५ जना र तमानखोला गाउँपालिकाबाट १ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन्। बागलुङ नगरपालिकाबाट २९ जनाले उम्मेदवारी फिर्ता गर्दा गलकोट नगरपालिकाबाट ८ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरे।

जैमिनी नगरपालिकाबाट ११ जना, बडिगाड गाउँपालिकाबाट ७ जना, निसीखोला गाउँपालिकाबाट ९ जना, बरेङ गाउँपालिकाबाट ८ जना, काठेखोला गाउँपालिकाबाट ९ जनाले उम्मेदवारी फिर्ता गरेका हुन्। बागलुङ नगरपालिकाबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाल विद्यार्थी संघका नेता दिनेश पन्तले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्।

उनले उम्मेदवारी चयनमा पार्टीले गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै मेयरमा उम्मेदवारी दर्ता गरेका थिए। नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन भएपछि राप्रपाबाट मेयर उम्मेदवार बनेकी सञ्जु नेपाली र एमालेबाट उपमेयर बनेकी पवित्रा रोकाले पनि उम्मेदवारी फिर्ता गरेकी छिन्।

बानपा—१ बाट स्वतन्त्र वडाध्यक्ष बनेका राजेश श्रेष्ठ, बानपा—३ का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार निशान खड्का, बानपा—४ का स्वतन्त्र वडाध्यक्ष हरिबहादुर जिसी, डिल्लीप्रसाद आचार्य, बानपा—७ का वडाध्यक्ष उम्मेदवार मानबहादुर कार्की, हेमराज गौतमले पनि उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले बताए। जिल्लाको ढोरपाटन नगरपालिकाट नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका ४ जना, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका २ जना वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका ९ जना र अन्य वडा सदस्यमा दर्ता गराएका गरी जम्मा ३५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिएका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस